वीरगञ्जमा टयाङ्करबाट तेल चोरी गर्ने गिरोह पक्राउ: हवाइ इन्धन चोर्दाचोर्दै ६ जना समातिए
वीरगञ्ज, २२ साउन । वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गरी अवैध रूपमा बिक्री वितरण गर्ने एक गिरोहलाई प्रहरीले टयाङ्करसहित नियन्त्रणमा लिएको छ । २० हजार लिटर हवाइ इन्धन बोकेको टयाङ्करबाट तेल निकालिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डमा रहेको सौदागर आयल सेन्टरमा तेल चोरी भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो । त्यहाँ ना ७ ख १५३९ नम्बरको टयाङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा उनीहरू फेला परेका हुन् ।
प्रहरीले चोरीमा संलग्न भएको अभियोगमा देहायका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ:
१. सुनैन मियाँ (वीरगञ्ज-३)
२. असलम हवारी (वीरगञ्ज-१५)
३. रफिक मियाँ (वीरगञ्ज-११)
४. केशर राम सुनार (हेटौंडा-१०)
५. मन्दसिंह लामा (हेटौंडा-१४)
६. उमेश राना मगर (हेटौंडा-१४)
पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लका अनुसार उक्त टयाङ्कर इण्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनलबाट नेपाल आयल निगमको हवाइ इन्धन डिपो, काठमाडौँका लागि इन्धन लिएर हिँडेको थियो । २० हजार लिटर क्षमताको सो टयाङ्कर बीच बाटोमै रोकेर इन्धन चोरी गरी स्थानीय बजारमा अवैध रूपमा बेच्ने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीले टयाङ्कर र पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप कानुनी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।