आर्थिक आत्मनिर्भरता र चेतना वृद्धिसँगै तनहुँमा सम्बन्धविच्छेदका मुद्दा बढे

तनहुँ, २४ साउन । तनहुँ जिल्लामा महिलाहरूको आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढ्दै गएको पाइएको छ।

महिलाहरूमा शिक्षा, रोजगारी र आर्थिक सबलीकरणको पहुँच विस्तार भएसँगै आफ्नो हकअधिकार सुनिश्चित गर्न कानुनी उपचार रोज्ने प्रवृत्ति बढेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्य बताउनुहुन्छ। सामाजिक सचेतना र व्यक्तिगत स्वतन्त्रताको अधिकार बुझ्दै जाँदा आपसी मनमुटाव र असमझदारी भएपछि कानुनी रूपमा छुट्टिने दम्पतीहरूको सङ्ख्या बढेको उहाँको विश्लेषण छ।

अदालतको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा तनहुँ जिल्ला अदालतमा दर्ता भएका कुल दुई हजार ४५६ मुद्दामध्ये सम्बन्धविच्छेदका मात्रै ९५२ वटा मुद्दा रहेका छन्। दर्ता भएकामध्ये अदालतले ८१० वटा सम्बन्धविच्छेदका मुद्दाहरू फछ्र्यौट (निरुपण) गरिसकेको छ।

यसैगरी, सोही आर्थिक वर्षमा अंशमुद्दा तर्फ कुल २८७ वटा मुद्दा दर्ता भएकामा १७९ वटा मुद्दा किनारा लगाइएको अदालत प्रशासनले जनाएको छ।