भक्तपुरको सुधार केन्द्रमा कुटपिटबाट युवकको मृत्यु: सीसीटीभीमा देखियो आक्रमण, ५ जना पक्राउ
भक्तपुर, २४ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित एक सुधार केन्द्रमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । बिरुवास्थित ‘उत्साहित सुधार केन्द्र’ मा रहेका व्यक्तिहरूबीच आइतबार बिहान भएको झडपमा परी स्थानीय ४१ वर्षीय उमेश खड्गीको ज्यान गएको हो ।
घटनापछि सुधार केन्द्र परिसर दिनभर तनावग्रस्त बनेको छ भने प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
मृतककी श्रीमती भगवती शाहीले सुधार केन्द्रमा रहेका अन्य बिरामीहरूले आफ्ना पतिको हत्या गरेको दाबी गरेकी छन् । उनले प्राप्त सीसीटीभी फुटेजमा केन्द्रमा रहेका अन्य व्यक्तिहरूले उमेशमाथि निर्मम कुटपिट गरेको देखिएको बताइन् ।
“गत बिहीबार मात्र उहाँलाई सुधार केन्द्रमा छोडिएको थियो, त्यतिबेला स्वास्थ्य अवस्था सामान्य थियो,” भगवतीले भनिन्, “आज बिहानै ४ बजे कर्मचारीहरू घरमा आएर उहाँलाई अस्पताल लगिएको खबर गरे । अस्पताल पुग्दा उहाँको मृत्यु भइसकेको थियो ।” सामान्य अवस्थाका व्यक्तिको अचानक मृत्यु भएपछि खोजी गर्दा कुटपिटबाट हत्या भएको प्रमाण भेटिएको परिवारको जिकिर छ ।
उमेशको मृत्युको खबर सार्वजनिक भएलगत्तै आक्रोशित आफन्त र स्थानीयले सुधार केन्द्र बाहिर प्रदर्शन गरेका थिए । दोषीमाथि कडा कारबाही र सुधार केन्द्र खारेजीको माग गर्दै सयौँको सङ्ख्यामा उपस्थित प्रदर्शनकारीले दिनभर नाराबाजी गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरले घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट र घटनास्थलको प्रमाणका आधारमा मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ । सुधार केन्द्रका सञ्चालक र कर्मचारीको भूमिकाबारे पनि प्रहरीले सुक्ष्म अध्ययन गरिरहेको छ ।
पीडितका आफन्त सरोज खड्गीका अनुसार सुधार केन्द्र प्रशासनले आफ्नो कमजोरी स्वीकार गरेको छ । केन्द्रमै भएको प्रारम्भिक वार्तामा सुधार केन्द्रलाई सो स्थानबाट हटाउने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने मौखिक सहमति भएको छ । यस विषयमा थप औपचारिक छलफलका लागि सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा वार्ता आह्वान गरिएको छ भने सहमति नभएसम्म परिवारले शव नबुझ्ने अडान लिएका छन् ।