मनसुन थप सक्रिय: भारी वर्षाको सम्भावना, यी प्रदेशहरूमा छ बाढी र पहिरोको जोखिम

काठमाडौँ, २६ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षा र केही क्षेत्रमा ‘धेरै भारी’ वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भाग नजिक रहेकाले देशभर मनसुनी गतिविधि बढ्ने देखिएको हो।

हाल कोशी, लुम्बिनी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदलीको अवस्था छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको पनि सम्भावना छ।

रातिको समयमा मनसुन अझ शक्तिशाली हुने देखिएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी भाग र लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ। केही स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन भनिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *