पर्सामा ११० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा, २६ साउन । पर्सामा प्रहरीले ११० किलो प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति उनलाई सोनवर्षाबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको विहार राज्य, बेतिया जिल्ला ग्राम उजहरु परजिलवा भाङ्गा निवासी ५० वर्षीय सउरु चौधरी रहेका छन्। पटेर्वासुगौली गाउँपालिका–३, सोनवर्षा क्षेत्रमा शङ्कास्पद रूपमा बोरा बोकेर हिँडिरहेको अवस्थामा फेला पारी सुरक्षा जाँच गर्दा चौधरीले बोकेको बोराबाट प्लाष्टिकबाहेक १०५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

यसैबीच, पर्सा प्रहरीले सोमबार साँझ नै स्रोत नखुलेको रु ५२ लाख ५० हजार नगदसहित एक जना भारतीय र तीन जना नेपाली नागरिकलाई समेत पक्राउ गरेको थियो। पक्राउ परेका चौधरीमाथि लागुऔषध ओसारपसार तथा नियन्त्रण ऐनबमोजिम मुद्दा दर्ता गरी थप कानुनी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *