जिपिएसमा सरकारी निशान छाप टाँसेर ठगी गर्ने युवक पक्राउ, ५२ थान डिभाइस बरामद

काठमाडौँ, २६ साउन । चीनबाट आयात गरिएको जिपिएस ट्रयाकर डिभाइसमा नेपाल सरकारको निशान छाप प्रयोग गरी सर्वसाधारणलाई झुक्याएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–२२ टेवहालबाट २९ वर्षीय दीपेन्द्र कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका–२ घर भई हाल काठमाडौँ बस्ने कर्माचार्यले व्यावसायिक प्रयोजनका लागि चीनबाट जिपिएस डिभाइसहरू आयात गर्ने गरेका थिए। उनले ती डिभाइसहरू नेपाल सरकारबाट मान्यता प्राप्त रहेको भनी सर्वसाधारणलाई विश्वास दिलाउन अनाधिकृत रूपमा सरकारी निशान छाप प्रयोग गरेको पाइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले कर्माचार्यले आर्थिक लाभ लिने उद्देश्यले झुटो प्रचारप्रसार गरी निशान छापको दुरुपयोग गर्दै जिपिएस बिक्री वितरण गर्ने गरेको देखाएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कर्माचार्यको साथबाट नेपाल सरकारको निशान छाप अङ्कित ५२ थान जिपिएस ट्रयाकर डिभाइस बरामद गरेको छ। सरकारी लोगोको दुरुपयोग गरी ठगी धन्दा चलाएको अभियोगमा उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको एसपी कार्कीले जानकारी दिए।