ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा
ओखलढुङ्गा, २७ साउन । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट विगत दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा परेका छन्। सिस्नेखोलाको कटानका कारण सुरु भएको पहिरो दिनप्रतिदिन फैलिँदै जाँदा स्थानीय बासिन्दा जोखिम मोलेरै गाउँमा बस्न बाध्य छन्।
डेढ दशकअघि सोही वडाको चुप्लु गाउँमा पहिरोले घरखेत बगाएपछि विस्थापित हुनुभएका स्थानीय राईबहादुर राई डाँडाखर्क आइपुग्नुभएको थियो। तर, अहिले सिस्ने खोलाको कटानले बनेको विशाल पहिरो उहाँकै नयाँ घरको आँगनसम्म आइपुगेको छ। “उतिबेला चुप्लुमा पहिरोले उठिबास लगायो, ज्यान जोगाउन यहाँ आएर घर बनाएँ, अहिले फेरि यहीँ घर बगाउने अवस्था आयो,” पीडित राईले दुःख व्यक्त गर्नुभयो।
डाँडाखर्कको पहिरोले स्थानीय बासिन्दाको उब्जाउ जमिन बगाएर बगरमा परिणत गरिदिएको छ। अहिलेसम्म सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोमा परिणत भइसकेको छ। अर्का स्थानीय वीरकाजी राईका अनुसार पहिरो समयमै रोक्न नसके डाँडाखर्कका पाँच घर मात्र नभई सिङ्गो बस्तीका अन्य ४० घरपरिवार पनि जोखिममा पर्नेछन्। सुरुमै यसलाई रोकथाम गर्न घेराबार वा तटबन्ध निर्माण नगरिँदा समस्या बल्झिएको उहाँको भनाइ छ।
पहिरो नियन्त्रणका लागि स्थानीय बासिन्दाले स्थानीय, प्रदेश र सङ्घ तीनै तहका सरकारसँग गुहार मागेका छन्। तर, हालसम्म प्रभावकारी काम हुन नसक्दा जोखिम झन् बढेको स्थानीयको गुनासो छ।
अर्की पहिरोपीडित गीतामाया राईले पहिरोले जग्गाजमिन बगाएर लगिसके पनि राज्यलाई नियमानुसार भूमिकर भने बुझाइरहनुपरेको तर नियन्त्रणको काम र राहत भने पाउन नसकेको बताउनुभयो।
ओखलढुङ्गाका दर्जनौँ स्थानमा दशकौँदेखि यस्ता ठूला पहिरोले स्थानीयलाई सास्ती दिने गरेको छ। जोखिमयुक्त पहिरोको दीर्घकालीन प्राविधिक समाधान खोज्न, प्रभावित परिवारको सुरक्षित पुनःस्थापना गर्न र उनीहरूको जीविकोपार्जन जोगाउन सरोकारवाला सरकारी निकायले समयमै ध्यान दिन आवश्यक देखिएको छ।