रोल्पाकाे थबाङमा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी
रोल्पा, २८ साउन । अविरल वर्षाका कारण पहिरो जाँदा राेल्पाकाे थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय राेल्पाका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।
यही साउन २७ गते दिउँसोदेखि परिरहेको अविरल झरीका कारण जमिन थिचिएर गए राति पहिरो खसेको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली र स्थानीयवासी उद्धारमा खटिएका थिए । रातिको समय र वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिरोले सो क्षेत्रका करिब ६ वटा घर र गोठहरूमा क्षति पुर्याएको छ । विकट भौगोलिक अवस्था र सञ्चार अवरोधका कारण घटनाको पूर्ण विवरण आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
पहिरोको जोखिम अझै कायम रहेकाले सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । लिलाराज बुढा/रासस