पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै काठमाडौँ प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

काठमाडौँ, २८ साउन । नेपाल पत्रकार महासङ्घले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको विनासर्त रिहाइको माग गर्दै काठमाडौँ जिल्ला प्रहरी परिसर अगाडि धर्ना दिएको छ।

महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा जम्मा भएका पत्रकारहरूले कालोपट्टी बाँधेर प्रदर्शन गर्दै परिसर अगाडि धर्ना दिएका हुन्। सो क्रममा शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि प्रहरी र पत्रकारहरूबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो। आन्दोलित पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्न, प्रेसको मुख थुन्ने प्रयास बन्द गर्न र पत्रकार श्रेष्ठलाई विनासर्त रिहा गर्न माग गर्दै प्लेकार्डसहित नाराबाजी गरेका थिए।

नेपाल प्रहरीले पत्रकार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा मङ्गलबार पक्राउ गरेको थियो। यस्तै, प्रहरी टोलीले बुधबार बिहानै जनआस्थाको कार्यालयमा समेत खानतलासी गरेको छ। महासङ्घले श्रेष्ठको पक्राउ र सञ्चारगृहमा गरिएको खानतलासीको कडा विरोध गरेको छ।

पक्राउ पर्नुभएका श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षका साथै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव हुनुहुन्छ। महासङ्घले श्रेष्ठलाई तत्काल विनासर्त रिहा नगरे थप सशक्त आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएको छ।

फाेटाे- राज महर्जन/मैत्री न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *