रोल्पाकाे सुनछहारीमा पनि पहिरोले घर पुरिँदा दम्पतीसहित ३ जना बेपत्ता
रोल्पा, २९ साउन । रोल्पाको थबाङमा भएको विनाशकारी पहिरोको चोट निको नहुँदै जिल्लाको सुनछहरी गाउँपालिकामा पनि पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। बिहीबार राति सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ गाउँमा पहिरो खसेर घर पुरिएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण खसेको पहिरोले स्थानीय वीरबहादुर घर्तीमगरको घर पुरेको छ। पहिरोमा परी घरधनी वीरबहादुर, उनकी श्रीमती शनी घर्तीमगर र सोही घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगर बेपत्ता भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा र नजिकैको प्रहरी चौकीबाट खटिएको टोलीले बेपत्ताहरूको खोजी कार्य सुरु गरेको छ। “राति पहिरो गएकाले तत्काल उद्धारमा कठिनाइ भएको थियो, अहिले स्थानीयको सहयोगमा पहिरो पन्छाउने र हराइरहेकाहरूको खोजी गर्ने कार्य भइरहेको छ,” प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो।
सुनछहरी गाउँपालिका–२ कै गिट्ठे गाउँमा पनि लादे बुढामगरको घर पहिरोले पुरेको समाचार प्राप्त भएको छ। त्यहाँको भौतिक तथा मानवीय क्षतिको थप विवरण आउन बाँकी रहेको र प्रहरी टोली घटनास्थलतर्फ गइरहेको कार्यालयले जनाएको छ। रोल्पामा विगत केही दिनदेखि भइरहेको निरन्तरको वर्षाले जमिन थिचिएर विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ। थबाङको घटनामा मृत्यु भएकाहरूको शोकमा रहेको जिल्ला फेरि अर्को विपद्ले स्तब्ध बनेको छ।