पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ: सुवेदी र ढकालको इजलासमा पेशी

काठमाडौँ, १ भदौ । वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले उक्त निवेदनको सुनुवाइका लागि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकेको छ ।

यसअघि गत साउन २९ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई उनीबाट बरामद गरिएका सामानसहित आज (भदौ १ गते) अदालतमा सशरीर उपस्थित गराउन सरकार र प्रहरीका नाममा आदेश दिएको थियो । सोही आदेशअनुसार प्रहरीले आज उनलाई सर्वोच्चमा उपस्थित गराउँदै छ ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठलाई गत बुधबार राति ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीमाथि कसैको वैयक्तिक गोपनीयता भङ्ग हुने गरी समाचार तथा सामग्री सम्प्रेषण गरेको अभियोग लगाइएको छ ।

श्रेष्ठलाई विना आधार र गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । आजको इजलासले श्रेष्ठको पक्राउको कानुनी प्रक्रिया र औचित्यमाथि बहस सुन्नेछ । पत्रकार श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासङ्घ लगायतका सङ्घसंस्थाहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै विरोध जनाउँदै आएका छन् ।