धुलिखेल अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सुरु: तत्काल ओपिडी मात्र सञ्चालनमा
काभ्रेपलाञ्चोक, १ भदौ । लामो समयदेखि रोकिएको स्वास्थ्य बिमा सेवा काभ्रेको धुलिखेल अस्पतालमा आज (सोमबार) देखि पुनः सुचारु भएको छ । स्वास्थ्य बिमा बोर्डबाट पाउनुपर्ने बक्यौता रकममध्ये अस्पतालले ८ करोड रुपैयाँ प्राप्त गरेपछि स्थगित सेवालाई निरन्तरता दिएको हो ।
बिमा बोर्डले समयमा भुक्तानी नगरेको भन्दै अस्पतालले गत असार १५ गतेदेखि बिमा अन्तर्गतका सबै सेवा पूर्ण रूपमा बन्द गरेको थियो । भुक्तानीको सुनिश्चितता र समन्वयपछि साढे एक महिनापछि सेवा पुनः सुरु हुँदा बिमा गरेका हजारौँ नागरिकलाई राहत मिलेको छ ।
अस्पताल प्रशासनका अनुसार बिमा अन्तर्गतका सबै सेवाहरू अहिले नै पूर्ण रूपमा सञ्चालन हुने छैनन् । हालका लागि बहिरङ्ग (ओपिडी) सेवा मात्रै बिमा अन्तर्गत उपलब्ध गराइनेछ । अन्य सेवाहरूको हकमा बिमा बोर्डसँगको थप समन्वयपछि मात्र निर्णय लिइने अस्पतालले जनाएको छ ।
कागजात: बिरामीले स्वास्थ्य बिमा परिचयपत्र र आवश्यक अन्य कागजात अनिवार्य साथमा ल्याउनुपर्नेछ ।
प्रेषण (Referral): सिधै अस्पताल आउनुको सट्टा पायक पर्ने प्रथम सेवा विन्दु (स्थानीय स्वास्थ्य चौकी वा प्राथमिक स्वास्थ्य केन्द्र) बाट रेफर लिएर मात्र धुलिखेल अस्पताल आउनुपर्नेछ ।
समय: स्वास्थ्य बिमा सेवा आइतबार र सार्वजनिक बिदाका दिन उपलब्ध हुने छैन ।
अस्पतालले बिमा बोर्डबाट पाउनुपर्ने ठुलो रकम अझै बाँकी रहेको भए पनि बिरामीको मर्कालाई ध्यानमा राख्दै सेवा सुरु गरिएको जनाएको छ । धुलिखेल अस्पतालमा काभ्रेका साथै सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका बिरामीहरू बिमा सेवाका लागि आउने गर्दछन् ।