मृत्यु भएका मतदाताको नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौँ,  भदौ १ । निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, विश्वसनीय र अद्यावधिक बनाउन मृत्यु भएका मतदाताहरूको विवरण हटाउनका लागि विशेष आग्रह गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा मतदाता नामावलीलाई वस्तुगत र त्रुटिरहित बनाउन नियमित अद्यावधिकको प्रक्रिया अघि बढाइएको उल्लेख छ । आयोगले कुनै मतदाताको मृत्यु भएमा निजको एकाघरका परिवारका सदस्य वा अन्य सम्बन्धित व्यक्तिलाई मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना उपलब्ध गराउन अनुरोध गरेको हो ।

निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम राख्न मतदाता नामावलीको शुद्धता अनिवार्य सर्त भएको आयोगले जनाएको छ । यस कार्यमा सक्रिय सहभागिता र सहयोगका लागि आयोगले सम्पूर्ण नागरिकहरूमा अपिलसमेत गरेको छ ।