मकवानपुरमा न्यायाधीश चढेको स्कारपिओ दुर्घटना: न्यायाधीश डाँगीसहित ६ जना घाइते, एकको अवस्था गम्भीर

हेटौँडा, २ भदौ । मकवानपुरको भीमफेदीमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्। काठमाडौँबाट हेटौँडाका लागि छुटेको सरकारी स्कारपिओ भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कारपिओ अनियन्त्रित भई सडकबाट भिरमा खसेको हो। गाडीमा न्यायाधीश डाँगीसहित ४ पुरुष र २ महिला गरी कुल ६ जना सवार थिए। दुर्घटनामा परेका सबै जना घाइते भएका छन् भने एक जनाको अवस्था ‘चिन्ताजनक’ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइएको थियो। “हेटौँडामा प्रारम्भिक उपचार भइरहेको छ, तर घाइतेहरूको अवस्था र संवेदनशीलतालाई हेरेर थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको छ,” डीएसपी काफ्लेले जानकारी दिनुभयो।