काठमाडौँमा सार्वजनिक यातायातभित्रै सुनको सिक्री चोरी गर्ने दुई जना पक्राउ
काठमाडौँ, २ भदौ । सार्वजनिक यातायातमा यात्रुको सुनको सिक्री चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा अजय बस्नेत (३१ वर्ष): काङ्गेल, सोलुखुम्बु र भविन्द्र विक (४३ वर्ष): दमक नगरपालिका–६, झापाका रहेका छन् ।
प्रहरीका अनुसार गत साउन २७ गते पुरानो बसपार्कदेखि बिजुली बजारसम्म चल्ने सार्वजनिक बसमा सवार एक व्यक्तिको घाँटीबाट सुनको सिक्री चोरी गरी उनीहरू फरार भएका थिए । यात्रुको भिडभाडको फाइदा उठाउँदै सिक्री लुटेर भागेको उजुरी परेपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पछिल्लो समय सार्वजनिक यातायातमा चोरी र गोजी काट्ने घटना बढेपछि प्रहरीले सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाएको छ ।