बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा नियुक्त हुँदै, आजै शपथ ग्रहणको तयारी
हेटौँडा, ४ भदाै । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा (एमाले) का किरण थापा नियुक्त हुनुहुने भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्न लाग्नुभएको हो।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो ४:०५ बजे नयाँ मुख्यमन्त्रीको नियुक्ति र दिउँसो ४:२० बजे पद तथा गोपनीयताको शपथ ग्रहण समारोह तय गरिएको छ। थापालाई मुख्यमन्त्री बनाउन एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी तीनवटा दलको समर्थनसहितको संयुक्त दाबी पेश भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यसैबीच, पार्टी नीतिविपरीत नयाँ सरकार गठन प्रक्रियामा सहभागी भएको भन्दै राप्रपाभित्र आन्तरिक विवाद बढेको छ। राप्रपा केन्द्रीय नेतृत्वले पार्टी निर्णयविपरीत गतिविधिमा लागेको आरोपमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालगायतका सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको बुझिएको छ।