बनस्थलीबाट गरगहना चोरी गर्ने गिरोह पक्राउ, खरिदकर्तासहित ६ जना पक्राउ
काठमाडौँ, ४ भदौ । काठमाडौँको बनस्थली क्षेत्रमा भएको गरगहना चोरीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरीमा प्रत्यक्ष संलग्नदेखि चोरीका गहना खरिद–बिक्री गर्नेसम्मका व्यक्तिहरू रहेका छन् ।
प्रहरी वृत्त बालाजुका अनुसार गत साउन १४ गते बिहान साढे ७ बजेतिर बनस्थलीस्थित एक व्यक्तिको डेराबाट विभिन्न गरगहना चोरी भएको थियो । उक्त उजुरीका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न र चोरीको सामान कारोबार गर्ने गिरोहलाई नै नियन्त्रणमा लिन सफल भएको हो ।
चोरीमा संलग्न सुनसरीका २२ वर्षीय सुविन घिमिरे, मकवानपुरका २६ वर्षीय सुरज विक, काभ्रेका २६ वर्षीय सञ्जय तामाङ र काठमाडौँका ३६ वर्षीय रबिन महर्जन छन् । बेचबिखनमा संलग्न काठमाडौँका ३५ वर्षीय रवि महर्जन हुन् भने खरिदकर्ता विनोद शाक्य रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट चोरी भएका विभिन्न गरगहना समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखी थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरिएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।
घटनाको प्रकृति र बरामद सामानका आधारमा यस गिरोहले अन्य स्थानमा पनि चोरी गरेको हुन सक्ने आशंकामा प्रहरीले विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।