पाँचथरमा सम्बन्ध विच्छेदको ग्राफ उकालो: कुल मुद्दामध्ये ५६ प्रतिशत हिस्सा, परिवार विखण्डनले चिन्ता
पाँचथर, ६ भदौ । पाँचथर जिल्ला अदालतमा दर्ता हुने मुद्दामध्ये सबैभन्दा ठूलो हिस्सा सम्बन्ध विच्छेदले ओगटेको छ । जिल्लामा पछिल्लो समय दाम्पत्य सम्बन्ध टुङ्ग्याउने क्रम तीव्र बनेपछि यसले सामाजिक र पारिवारिक विखण्डन निम्त्याउने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
अदालतको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा कुल ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ वटा (करिब ६३ प्रतिशत) सम्बन्ध विच्छेदका मात्रै थिए । अघिल्लो आवबाट सरेर आएका मुद्दासहित गत वर्ष कुल ४७१ वटा सम्बन्ध विच्छेदका मुद्दा सुनुवाइको सूचीमा रहेका थिए ।
अदालतका तहसिलदार एवं सूचना अधिकारी सरस्वती नेम्बाङका अनुसार आव २०८१/०८२ मा कुल मुद्दामध्ये ५१ प्रतिशत सम्बन्ध विच्छेदका रहेकामा गत आवमा यो सङ्ख्या ५ प्रतिशतले बढेर ५६ प्रतिशत पुगेको छ । गत वर्ष १७७ वटा मुद्दा फछ्र्यौट भएका छन् भने १६७ वटा मेलमिलापमार्फत टुङ्गिएका छन् ।
सम्बन्ध विच्छेद गर्नेमा उमेरको कुनै निश्चित सीमा देखिएको छैन । गत वर्ष ७३ वर्षीय श्रीमान् र ५९ वर्षीया श्रीमतीले समेत कानुनी रूपमा सम्बन्ध अन्त्य गरेका छन् । अर्कोतर्फ, डेढ वर्षको मात्र सन्तान भएका युवा दम्पतीहरू पनि छुट्टिने निर्णयका साथ अदालत पुग्ने गरेका छन् । सूचना अधिकारी नेम्बाङका अनुसार कुल मुद्दामध्ये करिब एक तिहाइ त अर्को विवाह गरिसकेकाहरूले कानुनी प्रमाण मिलाउनका लागि मात्र प्रक्रिया पूरा गर्न आउने गरेका छन् ।
अधिवक्ता जयप्रकाश केरुङका अनुसार सम्बन्ध विच्छेदका मुख्य कारणहरू यस्ता छन्:
वैदेशिक रोजगारी र एक्लोपन: श्रीमान् वा श्रीमती विदेशमा हुँदा सामाजिक सञ्जालमार्फत अन्य व्यक्तिसँग नजिकिने र सम्बन्धमा दरार आउने ।
बालविवाह: सानै उमेरमा विवाह गरेकाहरू परिपक्व भएपछि वैचारिक भिन्नताका कारण सँगै बस्न नसक्ने ।
व्यसन र बेवास्ता: मदिरा सेवनको लत, आर्थिक अभाव र एकअर्काप्रतिको जिम्मेवारी बोध नगर्नु ।
सचेतना र अधिकार: महिलाहरूले आफूमाथि हुने अन्याय र हिंसा सहन छाड्नु ।
बालमनोविज्ञानमा गम्भीर असर
सम्बन्ध विच्छेदका कारण सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन् । ९० प्रतिशतभन्दा बढी घटनामा आमाले सन्तानको जिम्मेवारी लिने गरे तापनि सिङ्गो परिवार नहुँदा बालबालिकाको मनोविज्ञानमा गम्भीर चोट पुग्ने गरेको अधिवक्ता केरुङ बताउनुहुन्छ ।
पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद ढुङ्गानाका अनुसार अहिलेको समाजमा ‘व्यक्तिगत लाभ’ हेर्ने तर ‘पारिवारिक त्याग’ नगर्ने प्रवृत्ति हाबी भएको छ । “क्षणिक आवेग र सामाजिक सञ्जालको दुरुपयोगले पारिवारिक संरचना ध्वस्त भइरहेको छ,” उहाँ भन्नुहुन्छ, “यसलाई रोक्न सचेतनामार्फत परिवारप्रतिको उत्तरदायित्व बोध गराउनु आवश्यक छ ।”
बढ्दो सम्बन्ध विच्छेदले समाजमा ल्याएको यो गम्भीर मोडबारे बेलैमा सोचेर समाधानका उपाय नखोजिए यसले भविष्यमा झन् जटिल सामाजिक समस्या निम्त्याउने सरोकारवालाहरूको ठम्याइ छ ।