वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ, ७ भदौ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभनमा पारी लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ का ३७ वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका–२ घर भएका ५० वर्षीय रमेश रेउले रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले गत शुक्रबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार लामाले मलेसिया पठाइदिने बहानामा तीन जना पीडितहरूबाट रु १४ लाख र रेउलेले अमेरिका पठाइदिने प्रलोभन देखाएर एक जना सेवाग्राहीबाट रु तीन लाख रकम असुल गरी सम्पर्कविहीन भएका थिए।

ठगीमा परेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुझाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *