प्राचीन सहर बनेपाको ऐतिहासिक पहिचान: १२४ वर्षदेखि निरन्तर चल्दैछ ‘कन्या-पूजा’

काभ्रेपलाञ्चोक, ८ भदौ । ऐतिहासिक एवं धार्मिक सहर बनेपामा सवा शताब्दीदेखि चल्दै आएको ‘कन्या-पूजा’को परम्पराले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । विगत १२४ वर्षदेखि रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई देवीका रूपमा पुज्दै आएका बनेपालीहरू यतिबेला पूजाको भव्य तयारीमा जुटेका छन् ।

स्थानीय सनातन कन्या-पूजा प्रबन्ध समितिले यस वर्ष भदौ १९ गते बुधबार (श्रीकृष्ण जन्माष्टमी) का दिन मुख्य पूजाको आयोजना गर्ने जानकारी दिएको छ । विसं १९५९ देखि सुरु भएको यो परम्परा बनेपाको अमूर्त सांस्कृतिक सम्पदाको रूपमा स्थापित छ ।

समितिका अनुसार यस वर्षको पूजामा काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्लाहरूबाट समेत गरी करिब आठदेखि १० हजार कन्या सहभागी हुने अनुमान गरिएको छ । बनेपाको भोलाखाँ टोलदेखि लायकु दरबार र पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दुवैतर्फ कन्याहरू लस्करै बस्ने गर्दछन् ।

कन्याहरूलाई पुज्नका लागि ३२ हजार स्वारी (विशेष प्रकारको रोटी) सहितका प्रसाद सामग्री तयार पारिएको समितिका सचिव प्रकाश कायस्थले जानकारी दिनुभयो । पूजामा सहभागी प्रत्येक कन्यालाई शुद्ध तोरीको तेल टाउकोमा खन्याएर रातो टीका लगाइदिने र गच्छेअनुसार दक्षिणा, मिठाई, जेरी तथा बिस्कुट वितरण गर्ने गरिन्छ ।

किंवदन्तीअनुसार रजस्वला नभएका र वेल-विवाह नगरिएका कन्याहरूमा देवकन्या, नागकन्या र गन्धर्वकन्याको अंश हुने जनविश्वास छ । उनीहरूलाई आराध्यदेवी चण्डेश्वरीको स्वरूप मानेर पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने र निरोगी भइने धार्मिक मान्यता रहिआएको छ ।
बनेपामा हुने यो विशेष पूजामा काठमाडौँ, भक्तपुर र ललितपुरबाट समेत ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् । सुरुमा नेवार समुदायका वैद्य परिवारबाट सुरु भएको यो पूजा अहिले सबै जातजातिका कन्याका लागि साझा उत्सव बनेको छ ।

पूजाको व्यवस्थापन निकै खर्चिलो र वृहत् हुने गरेको छ । गत वर्ष करिब आठ हजार कन्याका लागि तीन करोड रुपैयाँभन्दा बढी खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताउनुभयो । दाताहरूबाट प्राप्त सहयोग र समितिका पदाधिकारीहरूको योगदानबाट यो खर्च व्यवस्थापन गरिँदै आएको छ ।

पछिल्लो समय धुलिखेल, पनौती, पाँचखाल र दोलालघाटलगायतका क्षेत्रमा पनि सामूहिक कन्या-पूजाको प्रचलन विस्तार भएको छ ।