बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट : अदालतद्वारा कारण देखाऊ आदेश जारी

हेटौंडा, ८ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध परेको रिटमा उच्च अदालत पाटनको हेटौंडा इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले उक्त आदेश जारी गर्दै नियुक्तिबारे लिखित जवाफ पेस गर्न सरकारलाई निर्देशन दिएको हो।

राप्रपा सांसद कुमारी तामाङले मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै त्यसलाई बदर गर्न र अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दायर गरेकी थिइन्।

निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन अदालतले भदौ १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। “निवेदकले अन्तरिम आदेश समेतको माग गरेको सन्दर्भमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिने भएकाले भदौ १० गतेका लागि पेसी तोकिएको छ,” आदेशमा भनिएको छ। अदालतले सो दिन उपस्थित हुँदा सम्बन्धित प्रमाण र कागजातहरू समेत साथै ल्याउन दुवै पक्षलाई सूचित गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *