सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै : यस्ता छन् कार्यसूची
काठमाडौँ, ९ भदौ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको बैठक बिहान १०:१५ बजे र प्रतिनिधिसभाको बैठक अपराह्न १:०० बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उहाँले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यसैगरी, मन्त्री गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पनि सदनमा पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बिहान १०:१५ बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
दुवै सदनमा आज विभिन्न विधेयकहरूमाथि छलफल र तिनलाई संसदीय समितिमा पठाउने प्रक्रिया अघि बढ्ने संसद् सचिवालयले जनाएको छ ।