बागमतीका मुख्यमन्त्री किरण थापाले पाए विश्वासको मत : पक्षमा ५७ मत

हेटौँडा, ९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनभित्रको आन्तरिक कलह र विपक्षीको तीव्र विरोधका बीच मंगलबार साँझ भएको मतदानमा मुख्यमन्त्री थापाले बहुमत सिद्ध गर्नुभएको हो ।

मुख्यमन्त्री थापाको पक्षमा ५७ जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । प्रस्तावको विपक्षमा भने शून्य मत परेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मतदान प्रक्रियालाई ‘असंवैधानिक’ भन्दै बहिष्कार गरेपछि विपक्षमा कुनै मत नखसेको हो । १०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्नेमा मुख्यमन्त्रीले सहजै बहुमत जुटाउनुभएको छ ।

मुख्यमन्त्रीलाई सत्ता साझेदार दल नेकपा (एमाले) र नेकपाका गरी ५१ जना सांसदको साथ रहेको थियो । बहुमतका लागि थप दुई मत आवश्यक परेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जना सांसदले पक्षमा मतदान गरेपछि थापाको बहुमत आएकाे हाे । राप्रपाभित्र विवाद रहेका कारण केही सांसदले पक्षमा मतदान गरे भने केहीले कांग्रेससँगै मतदान बहिष्कार गरेका थिए ।

आइतबारदेखि नै विश्वासको मत लिने प्रयास गरिए पनि मन्त्री छनोटमा नेकपाभित्रको असन्तुष्टि र राप्रपाको आन्तरिक विवादका कारण बैठक पटक-पटक सर्दै आएको थियो । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा विश्वासको मत लिन नहुने प्रतिपक्षीको अडानका बाबजुद सरकारले बहुमत सिद्ध गरेको छ ।

यो जितसँगै बागमती प्रदेशमा एमाले नेतृत्वको सरकार थप सुदृढ भएको छ भने मन्त्री छनोट र कार्यविभाजनमा देखिएका असन्तुष्टि सम्बोधन गर्ने चुनौती मुख्यमन्त्री थापासामु कायमै छ ।