तिब्बतमा पुनः ड्याम फुटेकाे सूचना : तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान नेपाल प्रहरीको आग्रह

काठमाडौँ, १२ भदौ । चीनको तिब्बतमा पहिरोका कारण थुनिएर बनेको अर्को एउटा अस्थायी बाँध (ड्याम) फुटेको छ । चिनियाँ पक्षबाट ड्याम फुटेको आधिकारिक सूचना प्राप्त भएलगत्तै नेपाल प्रहरीले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान र उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।

नेपाल प्रहरीका अनुसार चीनको छोचेन खोला र पुरेपु साङ्पो नदीको सङ्गमस्थल नजिकै पहिरोका कारण बनेको ठुलो ‘ताल’ फुटेको हो । यसअघि चिनियाँ जलस्रोत मन्त्रालयले उक्त स्थानमा ठुलो मात्रामा पानी जम्मा भएको र फुट्ने उच्च जोखिम रहेको चेतावनी दिएको थियो ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको थियो । लगातारको वर्षा र पहिरोका कारण तीन दिनभित्र थप ३० लाख घनमिटर पानी थपिएर ताल फुट्ने आँकलन चिनियाँ सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले गरेको थियो । सोही आँकलनअनुसार ताल भरिएर पानीको बहाव अनियन्त्रित भई ड्याम फुटेको हो ।

बाढीको पुनः जोखिम बढेपछि चीनले तिब्बत क्षेत्रमा जारी खोज तथा उद्धार कार्य समेत स्थगित गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको अस्थायी ताल फुटेर पानीको बहाव उद्धार टोली खटिएकै क्षेत्रतर्फ बग्न थालेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उद्धार कार्य रोकिएको हो ।

ताल फुटेसँगै लेदोसहितको भीषण बाढी नेपालतर्फ आउन सक्ने सम्भावना रहेको छ । नेपाल प्रहरीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा रहेका बस्तीहरूलाई तत्काल सुरक्षित ठाउँमा सर्न र नदीको बहावमा आउन सक्ने परिवर्तनलाई मध्यनजर गर्दै सचेत रहन आग्रह गरेको छ ।