भोटेकोशी बाढीमा भक्तपुरका २८ नागरिक अझै सम्पर्कविहीन
भक्तपुर, १२ भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीका कारण भक्तपुर जिल्लाका २८ जना नागरिक सम्पर्कविहीन भएका छन् । बाढी प्रभावित क्षेत्रमा विभिन्न सिलसिलामा पुगेका उनीहरू बाढीपछि अलपत्र परेको र हालसम्म कुनै सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार हालसम्म २८ जना परिवारले आफ्ना सदस्यहरू हराइरहेको भन्दै खोजी गरिदिन प्रहरीसमक्ष आग्रह गरेका छन् । आफ्ना आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएपछि पीडित परिवारहरू यतिबेला निकै चिन्तित बनेका छन् ।
परिसरका सूचना अधिकारी दीपक कार्कीले सम्पर्कविहीन भएकाहरूको खोजी र पहिचानका लागि सुरक्षा निकायले तदारुकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । “हराइरहेकाहरूको विवरण सङ्कलन गरी सम्बन्धित जिल्लाका उद्धार टोलीहरूसँग समन्वय भइरहेको छ,” उहाँले भन्नुभयो ।
भोटेकोशीको बाढीले रसुवा र आसपासका जिल्लाहरूमा ठुलो जनधनको क्षति पुर्याएको छ । बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र बनाइए पनि कतिपय स्थानमा सञ्चार विच्छेद भएकाले वास्तविक अवस्था पत्ता लगाउन कठिन भइरहेको छ ।