तिब्बतमा फुटेको तालको बहावबारे चिनियाँ पक्षको ब्रिफिङ : ‘विस्फोटक बाढीको जोखिम कम’

काठमाडौँ, १२ भदौ । चीनको तिब्बतस्थित छोचेन खोला र पुरेपू त्साङ्पो नदीको सङ्गममा बनेको ताल फुटेपछि चिनियाँ पक्षले त्यसको नियमित निगरानी गरिरहेको जानकारी नेपाली अधिकारीहरूलाई पठाएको छ । चिनियाँ पक्षले पठाएको पछिल्लो सूचनाअनुसार तालबाट पानी ओभरफ्लो भइरहेको भए पनि तत्कालै ठुलो विस्फोटक बाढी आउने जोखिम कम देखिएको छ ।

चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई पठाएको सन्देशमा भनिएको छ, “तालबाट पानी निरन्तर ओभरफ्लो भइरहेको छ र पानीको मात्रा बढेसँगै तालको आकार पनि विस्तारित हुँदै गएको छ । यद्यपि, अहिलेको अवस्थामा ठुलो मात्रामा पानीको विस्फोटक बहाव हुने जोखिम न्यून छ ।”

यसअघि सो तालभन्दा तल्लो तटीय क्षेत्रमा बरफ र चट्टान (आइस-रक) खस्ने घटना भएको चिनियाँ पक्षले जनाएको छ । घटनास्थलको वस्तुस्थितिलाई निरन्तर निगरानी गरिरहेको र कुनै पनि नयाँ परिवर्तन वा जोखिम देखा परेमा तत्काल जानकारी गराउने प्रतिबद्धता चीनले जनाएको छ ।

सरकारी स्रोतका अनुसार बाढीको पूर्वानुमान गरिए पनि विस्फोटक बहावको सम्भावना कम देखिएपछि तटीय क्षेत्रका बासिन्दाहरूले केही राहत महसुस गरेका छन् । यद्यपि, नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले सुरक्षा निकाय र स्थानीय प्रशासनले उच्च सतर्कता कायम राख्न आह्वान गरेका छन् ।

तिब्बतबाट आउने यी सहायक नदीहरू रसुवागढी नजिकै भोटेकोशी र त्रिशूली नदी प्रणालीमा गाभिने भएकाले नेपालतर्फको तटीय क्षेत्रमा जोखिमको संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानी बढाइएको छ ।