रसुवाबाट उद्धार गरिएका सवार बस नवलपरासीमा दुर्घटना, ३२ घाइते
नवलपरासी पूर्व, १४ भदौ । रसुवाको भोटेकोशी बाढीबाट ज्यान जोगाएर घर फर्किँदै गरेका प्रभावितहरू चढेको बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ । आइतबार भएको उक्त दुर्घटनामा परी ३२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार रसुवाबाट उद्धार गरी काठमाडौँ ल्याइएका र त्यहाँबाट बर्दियातर्फ जाँदै गरेको लु प्र ०१-००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो । बसमा कुल ३८ जना यात्रु सवार थिए ।
दुर्घटनामा घाइते भएका ३२ जनामध्ये २७ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् । अन्य ५ जनाको भने अझै अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रुकुम पूर्वकी ममता परियारको मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।
यसै गरी, गम्भीर घाइते भएकी सुर्खेतकी रीता गन्धर्वलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज (शिक्षण अस्पताल) मा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
भोटेकोशीको विनाशकारी बाढीबाट बालबाल जोगिएर सुरक्षित रूपमा आफ्नो थातथलो फर्कने क्रममा भएको यो दुर्घटनाले प्रभावित परिवारहरूलाई थप मर्माहत बनाएको छ । प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गर्दै थप अनुसन्धान सुरु गरेको जनाएको छ ।