शव व्यवस्थापनमा टिप्पणी गरेकै आधारमा सचिव निरौलाकाे रसुवा सरुवा
काठमाडौँ, १४ भदौ । रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापनका विषयमा सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गरेकाे भन्दै कोशी प्रदेशका सचिव कोषहरी निरौलालाई सरकारले बाढीग्रस्त क्षेत्र रसुवामै काज सरुवा गरेको छ। कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सचिव निरौलालाई सोही शव व्यवस्थापनकै विशेष जिम्मेवारी दिएर रसुवा पठाइएको हो।
सचिव निरौलाले फेसबुकमा ‘फोकटको सुझाव’ भन्दै चितवनमा सनाखत नभएका शवहरूलाई डीएनए नमूना लिएर हतारमा गाडिएको प्रति असन्तुष्टि जनाएका थिए। उनले मृतकको धर्म, संस्कार, परम्परा र परिवारको भावनालाई ध्यान दिनुपर्ने भन्दै सरकारको कार्यशैलीको आलोचना गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई रसुवामै खटाउने निर्णय गरेको हो।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर शव व्यवस्थापनको जिम्मा दिएकी हुन्। मन्त्रालयको पत्रअनुसार उनलाई अर्को व्यवस्था नभएसम्मका लागि काजमा खटाइएको हो। उनको तलब र भत्ता भने कोशी प्रदेश सरकारबाटै भुक्तानी हुने व्यवस्था मिलाइएको छ। उनलाई रसुवा जिल्ला प्रशासन कार्यालयलाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गरी कार्यक्षेत्रमा जुट्न निर्देशन दिइएको छ।
के थियो निरौलाको भनाइ ?
निरौलाले कोभिड–१९ महामारीका बेला आफू मोरङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हुँदाको अनुभव स्मरण गर्दै विपद्का बेला शव व्यवस्थापनमा संवेदनशीलता अपनाउनुपर्ने सुझाव दिएका थिए। उनले फेसबुकमा लेखेका थिए, “चितवनमा हतारमा शव गाडिएको समाचार सुनेपछि आफूलाई फोकटको सल्लाह दिन मन लाग्यो।” उनले मृतकको सनाखत र अन्त्येष्टिमा हतार नगर्न र कानुनी प्रक्रियाका साथै मानवीय संवेदनालाई ध्यान दिन आग्रह गरेका थिए।