ललितपुरमा लायन्स क्लब शुभ ताराको रक्तदान : संस्थापक अध्यक्ष हिमालयद्वारा ८३औँ पटक रक्तदान, बाढीपीडितका लागि राहत संकलन
ललितपुर, १५ भदौ । लायन्स क्लब अफ काठमाडौं शुभ ताराको आयोजनामा ललितपुरको मंगलबजारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अस्पतालहरूमा हुने रगतको अभावलाई कम गर्ने र आकस्मिक अवस्थाका बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा ५४ पिन्ट रगत संकलन गरिएको छ।
टीयू रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा लायन्स डिष्ट्रिक्ट सेक्रेटरी इन्द्रबहादुर कार्की, डायबेटिज चिप गणेश आचार्य, क्लबका अध्यक्ष सुसिला श्रेष्ठ लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
राजेश हिमालयको ८३औँ रक्तदान
कार्यक्रमका विशेष आकर्षण क्लबका संस्थापक अध्यक्ष एवं जोन चेयरपर्सन राजेश हिमालय रहनुभयो। उहाँले कार्यक्रमकै अवसरमा आफ्नो जीवनको ८३औँ पटक रक्तदान गर्नुभएको छ। नियमित रक्तदानले स्वास्थ्यमा सकरात्मक प्रभाव पार्नुका साथै अरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने सन्देश दिँदै उहाँले भन्नुभयो, “हाम्रो सानो सहयोगले कसैको जीवन जोगिन्छ भने त्यो नै सबैभन्दा ठूलो सेवा हो।”
रक्तदानसँगै क्लबले हालैको विनाशकारी त्रिशूली बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री समेत संकलन गरेको छ। संकलित सामग्रीहरूमा खाद्यान्न, लत्ताकपडा, सिरक, डसना र जुत्ता–चप्पल रहेका छन्। यी सामग्रीहरू छिट्टै नै सम्बन्धित निकायसँग समन्वय गरी बाढीपीडित परिवारलाई वितरण गरिने क्लबका अध्यक्ष सुसिला श्रेष्ठले जानकारी दिनुभयो।
सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय यस क्लबले आगामी दिनमा पनि मानवीय सेवा र विपद् व्यवस्थापनका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा फस्ट भाइस प्रेसिडेन्ट आदित्य जोशी, अमृत घले, आकाश श्रेष्ठ, प्रमिला श्रेष्ठ, चण्डिका श्रेष्ठ तथा महिमा क्लबका अध्यक्ष पुरुषोत्तम तिमिल्सिना लगायतको सहभागिता रहेको थियो।