दक्षिण कोरियाली वायुसेनाको विमान राहत र उद्धार टोली लिएर काठमाडौँमा

काठमाडौँ, १७ भदौ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि दक्षिण कोरियाली वायुसेनाको विशेष विमान राहत सामग्री र थप उद्धार टोली लिएर काठमाडौँ आइपुगेको छ।

कोरियाली एयर फोर्सको उक्त विमान बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। नेपालमा बाढीले पुर्‍याएको ठुलो जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै कोरियाली सरकारले अत्यावश्यक राहत सामग्री र विज्ञहरूको टोली पठाएको हो।

विमानमार्फत आएको थप उद्धार टोलीले विशेष गरी बाढीका कारण थुनिएका जलविद्युत् आयोजनाका सुरुङ (टनेल) हरूमा खोजी र उद्धार कार्यमा सघाउनेछ। यसअघि नै दक्षिण कोरियाबाट आएको एक विशेषज्ञ टोली रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीमा सक्रिय रहँदै आएको छ। आज आइपुगेको नयाँ टोली र सामग्रीले सो उद्धार कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
भोटेकोसीको बाढीले मुलुकको पूर्वाधार र मानवीय क्षेत्रमा ठुलो धक्का पुर्‍याएपछि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग आउने क्रम जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *