बाढी पीडितका लागि अमेरिकाबाट ४० टन राहत सामग्री काठमाडौँमा : २ हजार ६ सय परिवारलाई सहयोग पुग्ने
काठमाडौँ, १७ भदौ । गत हप्ता आएको भाेटेकाेशी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि संयुक्त राज्य अमेरिकाबाट ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको छ । अमेरिकी मानवीय सहायता संस्था ‘सामारिटन्स पर्स’ ले पठाएको उक्त सामग्री बुधबार काठमाडौँ आइपुगेको हो ।
काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार राहत सामग्रीमा बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने वस्तुहरू समावेश छन् । जसमा शुद्ध खानेपानीका लागि वाटर फिल्टर, ओत लाग्न त्रिपाल, कम्बल, व्यक्तिगत सरसफाइका सामग्री र रातको समयमा उज्यालोका लागि सौर्य बत्ती (सोलार लाइट) लगायतका सामग्री रहेका छन् ।
यी सामग्रीहरूले बाढीबाट अति प्रभावित क्षेत्रका करिब २ हजार ६ सय परिवारलाई प्रत्यक्ष राहत पुग्ने दूतावासले जनाएको छ । राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीयस्तरमा कार्यरत विभिन्न संस्थाहरूको परिचालन गरिनेछ ।
अमेरिकी दूतावासले जीवनरक्षक सहायतालाई वास्तविक पीडितसम्म पुर्याउन नेपाल सरकार र स्थानीय साझेदार संस्थाहरूसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ । “नेपालको आवश्यकताअनुसार प्रभावित समुदायसम्म सहायता पुर्याउन हामी प्रतिबद्ध छौँ,” दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विपद्को यस घडीमा अन्तर्राष्ट्रिय समुदायबाट राहत आउने क्रम जारी छ ।