सङ्खुवासभाको मकालुमा शिक्षकको गोली हानी हत्या, अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा

सङ्खुवासभा, १९ भदौ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ। स्थानीय कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार राति अज्ञात समूहले गोली हानी हत्या गरेको हो।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्ष कुमारप्रसाद मैनालीका अनुसार राईमाथि बिहीबार राति विद्यालय परिसरमै गोली प्रहार भएको थियो। विद्यालयमै बस्दै आउनुभएका राई राति खाना खाइसकेपछि हात धुन बाहिर निस्किएका बेला उहाँमाथि आक्रमण भएको बुझिएको छ।

घटनाका बारेमा सोही विद्यालयकी शिक्षिका टिकामाया राईले प्रहरीलाई जानकारी दिनुभएको थियो। घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा र इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

शिक्षक राईको हत्या किन र कसले गरेको हो भन्नेबारे अझै खुल्न सकेको छैन। प्रहरीले घटनास्थलमा सूक्ष्म अनुसन्धान सुरु गरेको छ भने हत्यामा संलग्नको खोजी कार्यलाई तीव्र पारिएको डीएसपी मैनालीले जानकारी दिनुभयो।