रसुवाका जलविद्युत् आयोजनामा अन्तर्राष्ट्रिय टोलीसहितको खोज तथा उद्धार तीव्र
रसुवा, १९ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ भित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई थप सशक्त बनाइएको छ । नेपाली सुरक्षा निकायसँगै मित्रराष्ट्रहरू चीन, भारत र दक्षिण कोरियाका विशेषज्ञ टोलीहरू यतिबेला प्रभावित क्षेत्रमा परिचालित छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा खोजी कार्य अहोरात्र जारी राखिएको छ । आधुनिक उपकरण र प्रविधिसहित आएका विदेशी विज्ञहरूले सुरुङभित्र जमेको लेदो र गेग्रान पन्छाएर बेपत्ताहरूको अवस्था पत्ता लगाउन सघाइरहेका छन् ।
बाढीका कारण ज्यान गुमाउनेहरूको शव सङ्कलन गर्ने क्रम पनि जारी छ । हालसम्म रसुवाका विभिन्न स्थानबाट १४० वटा शव फेला पारिएको छ । सङ्कलित शवहरूमध्ये १३४ वटालाई विस्तृत परीक्षण र उचित व्यवस्थापनका लागि छिमेकी जिल्ला नुवाकोट पठाइएको सहायक प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।
भौगोलिक विकटता र सञ्चार सम्पर्कको असहजताका कारण बेपत्ताहरूको यकिन अवस्था पत्ता लगाउन उद्धार टोलीलाई चुनौती थपिएको छ । यद्यपि, सुरक्षा निकायहरूले नदी किनार र सम्भावित सबै स्थानमा खोजी कार्यलाई तीव्रता दिएका छन् ।