किक बक्सिङमा अविरल घिमिरेको ऐतिहासिक जित: फ्रान्सेली च्याम्पियनलाई ‘नकआउट’ गर्दै बने विश्व च्याम्पियन

काठमाडौँ, २० भदौ । नेपाली किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले किक बक्सिङको इतिहासमा पुनः एकपटक स्वर्ण अक्षरले आफ्नो नाम लेखाउन सफल हुनुभएको छ । जापानको नागोया सहरस्थित करिया हलमा शनिबार साँझ सम्पन्न ‘हिट किक बक्सिङ– ५९’ अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घको विश्व च्याम्पियनसिपमा घिमिरेले ऐतिहासिक सफलता हात पार्नुभएको हो ।

प्रतियोगिताको ‘मेन इभेन्ट’ मा घिमिरेले फ्रान्सका चर्चित बक्सर माथन चोइनार्डलाई दोस्रो राउन्डमै पाखा लगाउनुभयो । सन् २०२५ का विश्व च्याम्पियनसमेत रहेका चोइनार्डलाई खेलको दोस्रो राउन्डको दोस्रो मिनेटमा घिमिरेले प्रहार गरेको कडा मुक्का (पन्च) ले ‘नकआउट’ गरिदिएको थियो ।

अविरल घिमिरेले अन्तर्राष्ट्रिय रिङमा नेपालको शान र मान बढाउँदै एकपछि अर्को सफलता हासिल गरिरहनुभएको छ । हालसम्म २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुभएका उहाँले २१ वटा खेलमा सानदार जित दर्ता गर्नुभएको छ । विशेष कुरा त के छ भने, उहाँले जितेका २१ मध्ये २० वटा खेलमा प्रतिस्पर्धीलाई ‘नकआउट’ गर्दै पराजित गर्नुभएको छ, जुन नेपाली बक्सिङ इतिहासमै एक दुर्लभ कीर्तिमान हो ।

विश्व च्याम्पियन बनेपछि खुसी साट्दै घिमिरेले हालै रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । उहाँले आफ्नो यस ऐतिहासिक सफलताको क्षणमा बाढी पीडितहरूलाई सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ ।
“मेरो खेल यात्रामा निरन्तर साथ र सहयोग गर्नुहुने सबै नेपालीप्रति आभारी छु,” उहाँले भन्नुभयो, “देशमा आएको यो विपत्तिको समयमा म पीडित परिवारको साथमा रहनेछु ।”

जापानलाई कर्मथलो बनाएर किक बक्सिङमा सक्रिय घिमिरेले यो उपाधिसँगै विश्व खेलकुद जगतमा नेपालको पहिचानलाई थप उचाइमा पुर्‍याउनुभएको छ ।