सरकारी गाडी चढेर क्यासिनो पुगेका गाउँपालिका अध्यक्ष यादव पक्राउ

काठमाडौँ, भदौ २१ । सरकारी सवारीसाधन प्रयोग गरेर क्यासिनो पुग्नुभएका पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति वीरगञ्ज गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट उहाँलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले अध्यक्ष यादव पक्राउ परेको पुष्टि गर्नुभएको छ । डिएसपी मल्लका अनुसार प्रहरीको नियमित छड्के जाँचका क्रममा क्यासिनोमा भेटिएका अध्यक्ष यादवसहित आठजना नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो गाडीसहित अध्यक्ष यादवलाई शनिबार राति करिब ११ बजे नियन्त्रणमा लिएको थियो। “हामीले नियमित चेकजाँचका क्रममा उहाँहरूलाई नियन्त्रणमा लिएका हौँ, चाँडै विस्तृत विवरणसहित प्रेसनोट जारी गर्नेछौँ,” डिएसपी मल्लले भन्नुभयो ।

नेपालको विद्यमान कानुन अनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गर्न र जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। वीरगञ्जका विभिन्न होटलहरूमा क्यासिनो सञ्चालनमा रहे पनि त्यहाँ नेपालीहरूको प्रवेश गैरकानुनी मानिन्छ।

पक्राउ परेका अध्यक्ष यादवसहितका व्यक्तिहरूमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धान प्रक्रिया पूरा भएपछि उनीहरूविरुद्ध आवश्यक कानुनी कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।