वीरगञ्जको क्यासिनोमा प्रहरीको छापा : नेपालीलाई जुवा खेलाएको आरोपमा कर्मचारीसहित ८ जना पक्राउ
पर्सा, २१ भदौ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। ‘गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि’ मा कानुनविपरीत नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले छापा मारेको हो।
प्रहरीले क्यासिनोभित्र जुवा खेलिरहेको अवस्थामा चार जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव र ३० वर्षीय चन्दन सहनी रहेका छन्। यस्तै, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालीलाई क्यासिनोभित्र छिर्न दिने र जुवा खेलाउने कार्यमा सहयोग पुर्याएको आरोपमा क्यासिनोका चार जना कर्मचारीलाई समेत पक्राउ गरिएको छ। पक्राउ पर्ने कर्मचारीहरूमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।