साउदी अरेबियामाथि नेपालको सानदार जित, एक खेल अगावै सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २१ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी पुरुष प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत शनिबार क्वालालम्पुरमा सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

साउदी अरेबियाले प्रस्तुत गरेको १९१ रनको मध्यम लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको जितमा मध्यक्रमका ब्याटर गुलशनकुमार झा र ईशान पाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै समान ४४–४४ रनको योगदान दिए । गुलशन ४४ रनमा अविजित रहे ।
त्यसै गरी, देव खनालले ३९ रन जोडे भने कप्तान रोहितकुमार पौडेल २४ रनमा अविजित रहे । ओपनरद्वय आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन जोडेका थिए । बलिङतर्फ साउदीका इश्ताक अहमद र मुहम्मद आतिफले समान २–२ विकेट लिए ।

यसअघि क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा समेटिएको थियो । साउदीका लागि ओपनर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्काको मद्दतले सर्वाधिक ७७ रन बनाए । मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन जोड्नु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

साउदीलाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै समान ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा २ मेडन राख्दै मात्र १९ रन खर्चिएका थिए । यस्तै, ललितनारायण राजवंशीले २ तथा गुलशनकुमार झा र शेर मल्लले १–१ विकेट हात पारे ।

जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तीन खेलबाट ६ अङ्क जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा रहेको नेपालले अब समूह चरणको अन्तिम खेल आगामी मङ्गलबार हङकङसँग खेल्नेछ ।