पाल्पामा दुई महिनामै २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
पाल्पा, २२ भदौ । पाल्पा जिल्लामा चालु आर्थिक वर्ष २०८३/०८४ को सुरुवाती दुई महिना (साउन र भदौ) मै २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै स्वास्थ्य कार्यालयले जिल्लाभर लामखुट्टे नियन्त्रण र सचेतना अभियानलाई तीव्र बनाएको छ।
स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईका अनुसार पछिल्ला वर्षहरूमा यहाँ डेङ्गु सङ्क्रमणको अवस्था उतारचढावपूर्ण देखिएको छ। यसअघि आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। यो वर्ष सुरुवाती दुई महिनामै २५५ जनामा सङ्क्रमण देखिनुले जिल्लामा डेङ्गुको जोखिम उच्च रहेको सङ्केत गरेको छ।
जिल्लास्थित युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका अस्पताल तथा केही निजी क्लिनिक र स्वास्थ्य चौकीहरूमा उपचारका लागि आएका बिरामीहरूमा डेङ्गुको सङ्क्रमण बढी देखिएको छ। जलवायु परिवर्तनका कारण वातावरणीय अवस्थामा आएको फेरबदल र पछिल्लो समय स्वास्थ्य संस्थाहरूमा डेङ्गु परीक्षणको सहज उपलब्धता एवं दायरा विस्तार भएकाले सङ्क्रमित पहिचान हुने दर बढेको अधिकृत भट्टराईले बताउनुभयो।
डेङ्गु सार्ने एडिज जातको लामखुट्टेले घर वरिपरि जमेको पानी, पुराना टायर, गमला, टिनका डब्बा तथा कुलर जस्ता भाँडाकुँडामा फूल पार्ने गर्दछ। लामखुट्टेको नियन्त्रणका लागि लार्भाकै अवस्थामा खोजी गरी नष्ट गर्न आवश्यक रहेको चिकित्सकहरू बताउँछन्। स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन र लामखुट्टेको प्रजननस्थल नष्ट गर्न सबैमा अपिल गर्नुभएको छ।
