पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो जाँदा ८ दिनदेखि सडक अवरुद्ध: उपत्यकामा ग्यास र इन्धनको सङ्कट चुलियो

काठमाडौँ, २२ भदौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी र पहिरोका कारण धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यका जोड्ने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग विगत आठ दिनदेखि पूर्ण रूपमा ठप्प बनेको छ।

राजमार्ग अवरुद्ध भएसँगै उपत्यकामा खाना पकाउने एलपी ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीहरूको आपूर्ति व्यवस्था नराम्ररी प्रभावित भएको छ। उपत्यकामा पहिलेदेखि नै रहँदै आएको खाना पकाउने ग्यासको अभाव सडक बन्द भएपछि झनै चुलिएको छ। काठमाडौँका लागि आयात गरिएका ग्यास बुलेट, इन्धन ट्याङ्कर र खाद्यान्न बोकेका मालवाहक सवारीसाधनहरू राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका छन्।

आपूर्ति ठप्प भएपछि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रहरूमा ग्यास लिन सर्वसाधारण उपभोक्ताहरूको लामो लाइन लाग्न थालेको छ। उपत्यकाका प्रमुख चोकहरूमा उपभोक्ताहरू ग्यासका लागि मध्यरातदेखि नै रित्तो सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य भएका छन्। ग्यासको माग र मूल्य बढे पनि बढी मूल्य तिर्न तयार हुँदासमेत सर्वसाधारणले सहजै ग्यास पाउन सकेका छैनन्। उपत्यकाका मात्र नभई देशका अन्य प्रमुख सहरहरूमा रहेका ग्यास डिलरहरूमा पनि उपभोक्ताहरूको चाप उच्च छ।

अहिले विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रहरूले आफैले ग्याँस लिनगएकाे भन्दै उपभोक्ताहरूबाट एउटा सिलिण्डरमा रू २०० देखि रू ४०० सम्म बढी लिँदै ग्याँस ल्याइदिने गरेका छन् तर सरकारी निकाय वाणिज्य विभागकाे कुनै उपस्थिती देखिँदैन ।

सडक विभाग र स्थानीय प्रशासनले कृष्णभीरको पहिरो पन्छाएर राजमार्ग सुचारु गराउन निरन्तर प्रयास गरिरहेका छन्। तर, भौगोलिक जटिलताका कारण सडक पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने देखिएको छ। विगत दुई महिनादेखि बजारमा देखिएको ग्यास अभावको समस्यालाई सरकारले समयमै गम्भीरतापूर्वक सम्बोधन नगर्दा अहिले मुख्य चोक चोकमा लामो लाइन बस्नुपर्ने बाध्यता सिर्जना भएको उपभोक्ताहरूको गुनासो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *