वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ: मन्दिरको दानपेटिकादेखि खसी–बोकासम्म चोर्ने गरेको खुलासा
रामेछाप, २२ भदौ । रामेछापको खाँडादेवी गाउँपालिकामा एक वृद्ध दम्पतीलाई घरमै बन्धक बनाएर लुटपाट गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार राति नकाबधारी समूहले ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छीमाया तामाङको हात–मुख बाँधेर गरगहना र नगद लुटेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछाप र भक्तपुर प्रहरीको संयुक्त टोलीले लुटपाटमा संलग्न पाँचै जनालाई शनिबार भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मुख्य योजनाकारसहित लुटेका सामान खरिद गर्ने व्यवसायी समेत रहेका छन् ।
१. सुमन जर्घा मगर (२५): सिन्धुलीका मगर काठमाडौँमा निजी विद्यालयको बस चालक हुन् ।
२. दीर्घराज मोक्तान (३२): खाँडादेवी–२ का मोक्तान सार्वजनिक बसका सहचालक हुन् ।
३. पशुपति श्रेष्ठ (३३): खाँडादेवी–२ कै श्रेष्ठ काठमाडौँमा ‘इन्ड्राइभ’ राइडरका रूपमा काम गर्थे ।
४. पिताम्बर गहतराज (४४): झापाका गहतराज भक्तपुरमा सुनचाँदी व्यवसाय गर्छन् ।
५. गुणराज विश्वकर्मा (३८): धनकुटाका विश्वकर्मा लुटपाटको सामान व्यवस्थापनमा संलग्न थिए ।
गत बिहीबार मध्यराति करिब १२ बजे नकाबधारी तीन जनाको समूह मझुवा नेवारटोलस्थित लामा दम्पतीको घरमा प्रवेश गरेको थियो । उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँधेर, मुख थुनेर र आँखामा पट्टी बाँधेर नियन्त्रणमा लिएका थिए । ज्यान मार्ने धम्की दिँदै दम्पतीले लगाएका सुनका गहना र घरमा रहेको नगद लुटेर उनीहरू फरार भएका थिए ।
प्रहरी अनुसन्धानका क्रममा यो गिरोह लुटपाटमा मात्र नभई अन्य चोरीका घटनामा समेत सक्रिय रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार पशुपति श्रेष्ठको नेतृत्वमा रहेको यस समूहले खाँडादेवी–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको थियो । यति मात्र नभई, यो समूहले स्थानीय सुन्दरी श्रेष्ठको ३० केजीको खसी र रामबहादुर श्रेष्ठको गोठबाट बोका समेत चोरी गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।
पक्राउ परेकामध्ये धेरैजसोको आपराधिक पृष्ठभूमि रहेको पाइएको छ । पशुपति श्रेष्ठविरुद्ध यसअघि नै कालीमाटी वृत्तमा डाँका–चोरी मुद्दा चलेको थियो । दीर्घराज मोक्तान अभद्र व्यवहार र गुणराज विश्वकर्मा जुवा सम्बन्धी कसुरमा संलग्न रहेको प्रहरी रेकर्डले देखाएको छ ।
प्रहरीले उनीहरूको साथबाट लुटिएको ८३ हजारभन्दा बढी नगद, दुईवटा मोटरसाइकल, मोबाइल, सुनका औँठी, बुद्धचित्तको माला र पुराना सिक्काहरू बरामद गरेको छ । उनीहरूमाथि डाँका–चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।