भ्रष्टाचारमा शून्य सहनशीलता र नागरिकमैत्री शासन नै सहिदप्रतिको सच्चा सम्मान : कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ, २३ भदौ ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै सहिदहरूको सपना पूरा गर्न महानगरपालिका दृढ संकल्पित रहेको बताउनुभएको छ । ‘जेन्जी सहिद दिवस’ को अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
गएको वर्ष भदौ २२ र २३ गते सुशासन र भ्रष्टाचारमुक्त आचरणको माग गर्दै भएको ‘जेन्जी’ आन्दोलन तथा विक्रम संवत् १९९७ देखि हालसम्मका विभिन्न राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै डंगोलले नागरिक अधिकारका लागि भएका संघर्षहरूको जगमै वर्तमान लोकतान्त्रिक र संघीय शासन व्यवस्था उभिएको उल्लेख गर्नुभयो ।
सेवा प्रवाहमा सुधार र प्रविधिको प्रयोग
कार्यवाहक प्रमुख डंगोलले सरकारी सेवालाई झन्झटमुक्त, पारदर्शी र प्रविधिमैत्री बनाएर नागरिकको घरदैलोसम्म पुर्याउनु नै महानगरको मुख्य लक्ष्य रहेको बताउनुभयो । “हामी नागरिकमैत्री शासन स्थापना गर्न प्रतिवद्ध छौँ,” उहाँले भन्नुभयो, “स्वास्थ्य, शिक्षा, खानेपानी र स्वच्छ वातावरण जस्ता मौलिक हकको प्रत्याभूति गराउन महानगरले विशेष प्राथमिकताका साथ काम गरिरहेको छ ।”
विभेदरहित समाज र समृद्ध सहरको परिकल्पना
आफ्नो व्यक्तिगत स्वार्थ र पारिवारिक सुख त्यागेर देशका लागि बलिदान दिने सहिदहरूको बाटो पछ्याउँदै हिँड्नु जनप्रतिनिधिहरूको दायित्व भएको उहाँको भनाइ थियो । डंगोलले भन्नुभयो, “परिवर्तन केवल शब्दमा मात्र होइन, नागरिकको दैनिक जीवनमा देखिनुपर्छ । हरेक नागरिकले आत्मसम्मानका साथ बाँच्न पाउने विभेदरहित समाज निर्माण नै हाम्रो मूल लक्ष्य हो ।”
स्थानीय अर्थतन्त्र र पूर्वाधार विकास
महानगरले स्थानीय अर्थतन्त्रको प्रवर्धन र दिगो पूर्वाधार विकासमार्फत आम सर्वसाधारणको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो । काठमाडौँलाई न्यायपूर्ण, सुशासित र बस्न योग्य सहर बनाउने अभियानले राष्ट्रिय समृद्धिमा समेत टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
अन्त्यमा, नागरिकले जनप्रतिनिधिमाथि गरेको भरोसा र सहिदले देखाएको मार्गदर्शन नै महानगरको मूल मन्त्र भएको उल्लेख गर्दै उहाँले कलिलो उमेरमा सहादत प्राप्त गर्ने सहिदहरूको सपना पूरा गर्न आफूहरू अविचलित भई लाग्ने प्रण गर्नुभयो ।
