सिरहा सीमा क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको १५७ किलो गाँजा बरामद

सिरहा, २४ भदौ । सिरहाको सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजान लागिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहा अन्तर्गत खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका–४, इट्टाटारस्थित सीमावर्ती क्षेत्रबाट १५७ किलो २०७ ग्राम गाँजा नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १ बजी ३५ मिनेटतिर केही व्यक्तिले उक्त गाँजा टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै गरेको बेला गस्ती टोलीको नजरमा परेका थिए। सुरक्षाकर्मी देखेपछि तस्करहरू गाँजा त्यहीँ छाडेर भाग्न सफल भए।

घटनास्थलबाट सशस्त्र प्रहरीले छाडिएको गाँजा कब्जामा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार रोक्न गस्ती र निगरानी व्यवस्थालाई थप कडा र प्रभावकारी बनाइएको जानकारी दिएका छन्।