संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै , अर्थमन्त्रीले पेश गर्दैछन् दुई विधेयक
काठमाडौं, २५ भदौ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ बजी १५ मिनेटमा बस्ने कार्यक्रम छ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै उनले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।
यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव अगाडि सार्नेछिन्। बैठकमा सभामुखले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।
राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नेछन्। साथै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि प्रधानमन्त्री शाहले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। सो प्रस्तावमाथि सदनमा छलफल गरी पारित गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।