चितवनमा ईभी कारमा आगलागी, एक जनाको जलेर मृत्यु
चितवन, २६ भदौ । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान ६ बजेतिर बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको इभी कारमा आगलागी भएको हो।
आगलागीका बेला कारभित्रै रहेका एक जनाको जलेर मृत्यु भएको छ। दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना जलेर मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। मृतकको परिचय भने अझै खुल्न सकेको छैन।
आगलागीका कारण गाडी पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। कारमा कसरी आगो लाग्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
