भोटेकोशी बाढीः मृतकको सङ्ख्या १,३९५ पुग्यो, ५,१३० जना अझै सम्पर्कविहीन

काठमाडौँ, ३० भदौ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेला परेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ शव भेटिएका छन्। उपचारका क्रममा काठमाडौँमा थप दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

हालसम्म फेला परेका शवमध्ये १०४ को सनाखत भइसकेको छ, बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायतको प्रक्रिया अघि बढाइएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जना उद्धार गरिएका छन्। उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा नुवाकोटमा एक हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना राखिएका छन्।

विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकामा २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। यसबाहेक सुरक्षा निकायमार्फत थप नौ हजार ३५८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ। प्रवक्ता महतका अनुसार नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श उपलब्ध गराइएको छ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम निरन्तर राखेका छन्। सुरक्षा निकाय, स्थानीय तह तथा सरकारी-गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार-उपचार र राहत व्यवस्थापनमा सक्रिय रहेका छन्।

भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाउँदै बेपत्ताको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको बताएको छ।