धनुषामा अपहरित १५ महिने बालक सकुशल उद्धार, एक महिला पक्राउ

जनकपुरधाम, ३० भदौ । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए अनुसार भदौ १८ गते अपहरणमा परेका बिदेह नगरपालिका–६ का कमलेश महतोको १५ महिने छोरा सिद्धान्त महतोलाई गएराति सोही नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको हो। बच्चा अपहरणमा परेको सूचना पाएलगत्तै तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले खोजतलाश अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा बच्चा राखिएको ठाउँमा प्रहरी पुगेपछि उक्त महिला बच्चा छोडेर भाग्न खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ।

सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *