सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

 

भक्तपुर, ३० भदौ । गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा तथा रथारोहण गरिएको छ।

भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थीको उपलक्ष्यमा सूर्यविनायक नगरपालिका–६ र ८ का स्थानीयवासीले गणेश मन्दिरमा पूजाआराधना गरी गणेशको चाँदीको मूल मूर्तिलाई खटमा राखेर रथारोहण गराएका हुन्।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गणेशको पूजा गरी रथारोहणको प्रारम्भ गराएका थिए। त्यस्तै सङ्घीय सांसदद्वय रुकेश रञ्जित र राजिब खत्री, पूर्व सांसद दुर्लभ थापा तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले पनि गणेशको पूजाअर्चना गरेपछि जात्रा सुरु भएको थियो।

जात्रा आयोजक सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतका अनुसार मन्दिरको मूल ढोकामै गणेशलाई विभिन्न परिकारका प्रसाद चढाएर पछि रथ बोकी सिन्दुर खेल्दै रथयात्रा सुरु गरिएको हो।

स्थानीय विभिन्न टोलको परिक्रमापछि रथ पुनः मन्दिरमा ल्याइनेछ र साँझ पूजा तथा आरतीपछि मूर्तिलाई पुरानै स्थानमा प्रतिस्थापन गरिनेछ। यो जात्रा वडा नं ६ र ८ को आर्थिक सहयोगमा विसं २०७८ देखि मनाउन थालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *