वीरगन्जमा बेवारिसे कारबाट चार थान पेस्तोल, छ थान गोली बरामद
काठमाडौँ, १ असोज । पर्साको वीरगन्जमा बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र छ थान गोली बरामद भएको छ।
वीरगन्ज महानगरपालिका–१५ वास्तुबिहार चोकमा बुधबार बेवारिसे अवस्थामा रहेको यूपी १६ एजे ३३०१ नम्बरको भारतीय नम्बर प्लेटको कारबाट सशस्त्र प्रहरीले पेस्तोल र गोली बरामद गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले उक्त कारबाट दुई थान कटुवा पेस्तोल, दुई थान सिक्सर पेस्तोल र ती पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका छ थान गोली बरामद गरेको हो।
सशस्त्र प्रहरीले जनाएअनुसार बरामद पेस्तोल, गोली र बेवारिसे कारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
