डिल्लीबजारका नापी अधिकृत ९ लाख घुसहित रङ्गेहात पक्राउ
काठमाडौँ, २ असाेज । नापी कार्यालय डिल्लीबजार ३ नम्बर नापी टोली माछापोखरीका प्रमुख डिल्लीबहादुर वली नौ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालको टोलीले उनलाई वसुन्धाराबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउनका लागि सेवाग्राहीसँग अनावश्यक सास्ती र दुःखहैरानी दिई घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टोली खटिएको थियो।
अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट नौ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थितबाट नियन्त्रणमा लिएको हो। दन्यौपानेका अनुसार नापी अधिकृत वलीलाई विशेष अदालतमा पेस गरी थप अनुसन्धान भइरहेको छ।
