भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ सुरुङबाट २४ शव निकालियो
काठमाडौँ, ४ असाेज । रसुवाको भोटेकोशीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये हालसम्म २४ जनाको शव निकालिएको छ । गत भदौ १० गते आएको बाढीका कारण सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी छ ।
खोजी तथा उद्धार टोलीले शनिबार अडिट–३ सुरुङ क्षेत्रमा कामलाई निरन्तरता दिएको छ । सुरुङको अपस्ट्रिमतर्फ रहेको स्टिल ग्यान्ट्री फर्मवर्क हटाउने क्रममा करिब २०० किलोग्राम स्टिल सामग्री हटाइएको छ ।
स्टिल तथा रिबारभित्र फसेका सामग्री र अवशेष हटाउँदै संयुक्त उद्धार टोलीले खोजी कार्य अघि बढाइरहेको छ । खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आयोजनाको टोली गरी ४४ जना परिचालन गरिएको छ ।
यसैबीच, डाउनस्ट्रिमतर्फ खोजी कार्यलाई थप प्रभावकारी बनाउन सर्च डगको टोलीसमेत परिचालन गर्ने तयारी गरिएको छ । मैलुङ क्याम्प क्षेत्रमा थप एउटा एक्स्काभेटर प्रयोग गरी भग्नावशेष हटाउने तथा सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ ।
